सोलुखुम्बुको थामे र मनाङको हुम्देमा आइस क्लाइम्बिङ फेस्टिभल हुने

काठमाडौं । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सोलुखुम्बुको थामे र मनाङको हुम्देमा आइस क्लाइम्बिङ फेस्टिभल हुने भएको छ । हुम्देमा पछिल्लो तीन वर्षदेखि आइस क्लाइम्बिङ फेस्टिभल हुँदै आइरहेको छ भने थामेमा पहिलो पटक हुन लागेको हो ।

नेपाल पर्वतारोहण संघ (एनएमए) को मुख्य आयोजनामा नेपाल क्लाइम्बिङ टिमले मनाङको हुम्देमा आइसक्लाइम्बिङ फेस्टिभल गर्दै आइरहेको छ । थामेमा यम्बु ठमीछो किदुगले पहिलो पटक यो फेस्टिभलको आयोजना गर्ने भएको हो ।

आयोजक एनएमएले दिएको जानकारीअनुसार जनवरी २२ देखि २९ सम्म सोलुखुम्बुको थामेमा आइस क्लाइम्बिङ फेस्टिभल हुने तय भएको छ । यसैगरी मनाङको हुम्देमा फेबु्रअरी १ देखि १० तारिकसम्म फेस्टिभल हुनेछ ।

कामाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा एनएमएका अध्यक्ष शन्तबीर लामाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका साथै आइस क्लाइम्बिङलाई पर्वतीय खेलको रुपमा विकास गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको बताउनुभयो ।

किदुकका अध्यक्ष निङमा शेर्पाले किर्तिमानी आरोहीहरुको जन्मथलोमा अवस्थित आइस क्लाइम्बिङ र रक क्षेत्रलाई बिश्वभर पर्यटन प्रवद्र्धन गरी पर्यटकलाई आकर्षित गर्न ‘थामे भ्याली आइस एण्ड रक फेस्टिभल’ सञ्चालन गर्न लागिएको बताउनुभयो । किर्तिमानी आरोही कामी रिता शेर्पाले आपूm जन्मेको गाउँको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न फेस्टिभल आयोजना हुन लागेकोप्रति खुशी ब्यक्त गर्नुभयो ।

थामे विश्व प्रसिद्ध आरोहीहरु सर एटमण्ड हिलारीसंगै सगरमाथामा पहिलो पाइला टेक्ने तेम्जिङ नोर्गे शेर्पा, दश पटक विना अक्सिजन सगरमाथा आरोहण गर्नुभएका आङरिता शेर्पा, सबैभन्दा धेरै २४ पटक सगरमाथा आरोहण गर्नुभएका कामी रिता शेर्पा लगायत किर्तीमानी आरोहीहरुको जन्मस्थान हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार