पर्वतीय र पदयात्रा पर्यटनका पाँच लाख मजदूर बेरोजगार

काठमाडौं । कोभिड १९ महामारीका कारण नेपालको पर्वतीय र पदयात्रा पर्यटनका पाँच लाखभन्दा बढि मजदूर बेराजगार भएका छन् । पर्यटकीय सिजन मार्च, अप्रिल र मे महिना मै कोभिड १९ का कारण ‘लकडाउन’ गरिएपछि यो क्षेत्रमा संलग्न रहेका मजदूर बेरोजगार बनेका हुन।

लकडाउनका कारण पर्वतीय पथप्रदर्शक, सहयोगी र पर्वतीय पर्यटनसंग प्रत्यक्ष–अप्रत्यक्ष संलग्न रहेका एक लाख २५ हजारभन्दा बढि मजदूर बेरोजगार बनेको नेपाल पर्वतारोहण संघ (एनएमए) ले जनाएको छ । ‘यो क्षेत्रमा संलग्न गाइड र सहयोगी यति लामो समयसम्म कामविहीन बनेको इतिहासमै यो पहिलो पटक होला । यसले उहाँहरुमा निराशा छाएको छ’, एनएमएका महासचिव कुलबहादुर गुरुङ भन्नुहुन्छ, ‘मजदूरलाई यो क्षेत्रमा एक वर्ष कसरी टिकाउन सकिएला भन्ने ठूलो चिन्ता थपिएको छ ।’

बेरोजगार मजदुर आफ्नो जीविकोपार्जनका लागि यसको बिकल्प खोज्न बाध्य हुने अवस्था आएको महासचिव गुरुङ बताउनुहुन्छ । यस्तो अवस्थामा पर्यटन क्षेत्रमा भएका अनुभवी मजदूरहरुलाई पलायन हुनबाट रोक्न सरकारले नै राहतको कार्यक्रम घोषणा गर्नुपर्ने तर्क उहाँको छ ।

कोभिड १९ महामारीका कारण अहिले विश्व नै समस्यामा छ । प्रायः देशमा अझै लकडाउन कायम छ । यसले नेपालमा मात्रै हैन, नेपाल भ्रमणमा आउने पर्यटक र उनीहरुको देश नै आर्थिक मन्दीमा फस्ने सम्भावना छ । त्यसैले फेरि नेपालमा पहिलेको जस्तै पर्यटक भ्रमणका लागि आउने सम्भावना कम्तिमा यो वर्षका लागि असम्भव देखिएको छ ।

महासचिव गुरुङ २०२१ बाट मात्रै नेपाली पर्यटन क्षेत्र सुचारु हुने अपेक्षा गर्न सकिने बताउनुहुन्छ । यो अवस्थाले कम्तिमा यो वर्ष पर्यटन मजदूर रोजगारविहीन हुने देखिएको छ । यो अवस्थामा अनुभवी पर्वतीय मजदूरलाई यही क्षेत्रमा टिकाइराख्न सरकारले हिमाल सफाई अभियान, साइनेस जडान लगायतमा लगाउन पर्ने सुझाव उहाँको छ ।

‘पदयात्रा पर्यटनमा साढें तीन लाखभन्दा बढि बेरोजगार’

पदयात्रा पर्यटनमा पनि प्रत्यक्ष–अप्रत्यक्ष जोडिएका साढें तीन लाखभन्दा बढि मजदूर बेरोजगार बनेको टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ । अध्यक्ष खुम सुवेदी एनएमएलाई जस्तै आफ्ना अनुभवी कामदारलाई यही क्षेत्रमा टिकाइराख्ने चुनौती थपिएको बताउनुहुन्छ ।

‘कोभिड १९ को यो संकटले व्यवसायीहरूलाई आफ्नो व्यवसाय कसरी जोगाउने भन्ने चिन्ता त छदैछ, साथै यस क्षेत्रमा कार्यरत अनुभवी मजदूरलाई कसरी जोगाइराख्ने भन्ने चिन्ता पनि थपिएको छ’, अध्यक्ष सुवेदी भन्नुहुन्छ, ‘त्यसका लागि हामीले सरकारबाट केही सहयोगी कार्यक्रमको अपेक्षा गरेका छौं ।’ उहाँले एक वर्षसम्म कम्पनीको सिफारिसमा मजदूरलाई प्रतिब्यक्ति मासिक १५ हजार रुपैंयाँ ऋण उपलब्ध गराउन अनुरोध गर्नुभयो ।

अध्यक्ष सुवेदीले पर्यटन क्षेत्रलाई बचाउने हो भने सरकारले कम्पनीहरुलाई विना धितो २० लाखसम्म ऋण प्रवाह गर्नुपर्ने बताउनु भयो । ‘लकडाउन हट्नै बित्तिकै पर्यटन क्षेत्र सहज भइहाल्ने अवस्था छैन’, उहाँ भन्नुहुन्छ, ‘त्यसैले लकडाउनको सदुपयोग गर्दै र मजदूरलाई रोजगारी सिर्जना गर्ने उदेश्यले पदर्माग सरसफाई, साइनेस व्यवस्थापनका लागि टान प्रयासरत रहने छ ।’

देशको कुल ग्राहस्थ उत्पादनमा तीन प्रतिशत योगदान रहेको पर्यटन क्षेत्रले यो सिजनमा मात्रै एक खर्बभन्दा बढि रकम गुमाएको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार