घरबासमा पहिलो पटक अनलाइन बुकिङ


मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँमा सञ्चालनमा ल्याइएको सामुदायिक घरवासमा ‘अनलाइन बुकिङ’को व्यवस्था शुरुआत गरिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेपछि घरवासमै पहिलोपटक अनलाइन बुकिङको व्यवस्था शुरु गरिएको थकाली सामुदायिक घरवासका अध्यक्ष लालप्रसाद थकालीले जानकारी दिनुभयो । ग्राहकले घरवासमा बुक गर्दा शुल्क तिर्नु नपर्ने उहाँले जानकारी दिनुभयो ।
सदरमुकाम जोमसोमदेखि दुई किमि दक्षिणमा रहेको उक्त गाउँको आसपासमा थकाली सङ्ग्रहालय, ढुम्बा ताल, हिउँचितुवा गुफा, वर्षौं पुरानो कुछपतेरेङ्गा गुम्बा, यारु झो भिउपोइट, इको ग्रो स्याउ बगान, घरपझोङ किल्ला, संसारकै अग्लो तिलिचो ताल पुग्ने छोटो पदमार्ग, कैशाङ क्याम्प तथा दर्जनौँ पर्यटकीयस्थल रहेका छन् ।

स्थानीय १२ घरमा सञ्चालन गरिएको घरवासमा १२० देखि १५० जना सम्मलाई खान र बस्नको प्रबन्ध गर्न सकिने बताइएको छ । पाहुनालाई माग बमोजिम थकाली नृत्य लगायतका स्थानीय परम्परागत संस्कृति हेर्न सकिने व्यवस्था मिलाइएको थकाली सामुदायिक घरवासका सचिव जुमा थकालीले जानकारी दिनुभयो ।
थकाली जातिको कला संस्कृति र जीवनशैली झल्किने सो गाउँमा घरवास सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।


गाउँका पर्यटकीयस्थलको अवलोकन गर्न आउने पर्यटकले खाने र बस्ने व्यवस्थाकै कारण दुःख पाउने गरेकाले अनलाइनबाटै घरवास बुकिङ गर्ने प्रबन्ध मिलाइएको स्थानीय बुद्धिजीवी दिनेश थकालीले बताउनुभयो । डब्लुडब्लुडब्लु डट ठिनी डट ओआरजी नामक वेबसाइटमार्फत पर्यटकको संख्या, बस्ने दिन र खर्चको अवस्थाका बारेमा जानकारी लिनसक्ने छन् ।

थकाली सामुदायिक घरवासका लागि प्रदेश सरकार, घरपझोङ गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले घरवासलाई अनुदान, तालीम प्रदान गरेको थियो ।
ग्रामीण बस्ती, हिमाली संस्कृतिको अध्ययन, प्राकृतिक सौन्दर्य, रमणीय दृष्य र अनुभवको लागि घरवासमा पर्यटक आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिनुभयो ।
घरवास सञ्चालनमा आएपछि पितृ श्राद्धका लागि प्रख्यात कागबेनी, हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा पवित्र धार्मिकस्थल मुक्तिनाथ, उपल्लो मुस्ताङ, कोरला नाका पुग्ने पर्यटकलाई सहज भएको बताइएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार