मौलिक नृत्य र बाद्यमादनले पर्यटकलाई स्वागत गर्दै स्वयम्भू


काठमाडौं । विश्व सम्पदा सूचिमा सुचिकृत स्वयम्भू पुग्ने पर्यटकको न्यानो स्वागतका लागि नेपाली मौलिक नृत्य, वाद्यवादन संस्कृतिको प्रस्तुती यतिबेला स्वयम्भूमा देख्न सकिन्छ ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको अवसरमा स्वयम्भू पुग्ने पर्यटकका लागि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भू पुग्ने पर्यटकलाई खदा लगाएर स्वागत गर्दै नेपाली मौलिक नृत्य, वाद्यमादनको प्रस्तुति दिंने गरेको स्वयम्भू व्यवस्थापन महासमितिका महासचिव ज्ञानु लामाले जानकारी दिनुभयो ।
लामाका अनुसार हरेक अंगे्रजी महिनाको पहिलो दिन सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिने कार्यक्रमलाइ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० भरि निरन्तरता दिएको हो ।

स्वयम्भू विश्वमा मङ्की टेम्पलका रुपमा परिचित सम्पदा हो । ‘ऐतिहासिक र पुरातात्विक विहार चैत्य, मन्दिरलगायतका संरचना रहेको स्वयम्भूबाट काठमाडौं उपत्यका नियाल्न पुग्ने पर्यटकका लागि नेपाली मौलिक नृत्यहरु भैरव, लाखे नृत्यलगायतको प्रस्तुती दिंदै आएका छौं ।’ महासचिव लामाले भन्नुभयो, ‘स्थानीय कलाकारसँगको सहकार्यमा नेपाली मौलिक नृत्य र कलाको प्रस्तुतीलाई यो वर्षभरि नै निरन्तरता दिने हाम्रो तयारी र योजना हो ।’
स्वयम्भू पुग्ने पर्यटक र सर्वसाधारणका लागि सात ठाउँमा शौचालयको व्यवस्थापन गरिएको छ । अन्य दुई स्थानमा शौचालय थपिने क्रममा रहेको महासमितिले जनाएको छ ।
पहिले धार्मिक आस्था राख्नेहरु मात्र पुग्ने स्वयम्भूमा पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको घुईंचो लाग्ने गरेको स्थानीयको भनाइ छ । पछिल्लो समयमा स्वयम्भू व्यवस्थापन र पर्यटकमैंत्री वातावरण निर्माणमा उल्लेख्य सुधार भएको महासमितिले जनाएको छ ।
चाइनिज र भारतीय पर्यटकको मुख्य आकर्षण रहेको स्वयम्भूमा पर्यटकीय सिजनमा हरेक दिन छ देखि सातसय जनासम्म पर्यटक पुग्ने गरेको महासमितिले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार