सगरमाथा ६८ वर्षे आरोहण इतिहासमा बनेका अनौठा कीर्तिमान

(अन्तर्राष्ट्रिय सगरमाथा दिवस)

नेपालले २९ मेलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउँदै आएको छ । विश्वको सर्वाेञ्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला पुगेको दिनलाई नेपालले दिवसको रुपमा मनाउने गरेको हो । २९ मे १९५३ मा न्युजिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेका थिए ।

नेपालले त्यही दिन (२९ मे) लाई २००७ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउँन सुरु गरेको हो । यस पटक पनि नेपाल पर्वतारोहण संघ (एनएमए), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) लगायत संघ संस्थाहरुले भर्चुअल रुपमै भए पनि सगरमाथा दिवस मनाएका छन् ।

विश्वमै आठ हजारभन्दा अग्ला धेरै हिमालहरु रहेको नेपालका लागि सगरमाथा दिवस धेरै दृष्टिकोणबाट महत्वपूर्ण छ । यो प्रकृतिले दिएको मूल्यहीन उपहारको हर्साेल्लास मात्रै हैन, यसको प्रचारले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको शाख थप उचो बन्नेछ । यसले पर्वतारोहणमा रुची राख्ने विश्वका साहसी पर्यटकहरुका लागि नेपाल भित्राउन पनि मद्धत पुग्ने छ ।

एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पटक आरोहण गरेपछिको ६८ वर्षमा सगरमाथाको नियमित आरोहण हुदै आइरहेको छ । अहिले सगरमाथाको उचाई थप ८६ सेन्टिमिटरले अग्लिएको छ । नेपाल र चिनले संयुक्त रुपमा गरेको सर्भेक्षणपछि सगरमाथाको उचाई आठ हजार आट सय ४८ दशमलव ८६ मिटर पुगेको हो । सगरमाथाको नयाँ उचाई पछि पनि आरोहीहरुले नियमित आरोहण गरिरहेका छन् ।

सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पटक सफल आरोहण गरी किर्तिमान कायम गर्दा त्यसपछिका धेरै आरोहीहरुले फरक खालका कीर्तिमान कायम गरेका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा हामीले सगरमाथा आरोहणमा बनेका केही फरक कीर्तिमानलाई प्रस्तुत गरेका छौं ।

सगरमाथाको चुचुरोमा विवाह गर्ने पहिलो जोडी
(पेम दोर्जी शेर्पा र मोनी मुलेपती, नेपाली)

पेम दोर्जी शेर्पा र मोनी मुलेपतीले ३० मे २००५ मा सगरमाथाको सफल आरोहण मात्रै गरेनन्, त्यही क्रममा विवाह पनि गरे । त्यससँगै शेर्पा र मुलेपती विश्वकै सबैभन्दा अग्लो ठाउँमा विवाह गर्ने जोडी बन्यो । उनीहरुको यो विवाह अन्तर जातीय हो । उनीहरुको ऐतिहासिक विवाह हेर्ने र तस्विर खिच्ने व्यक्ती कामी शेर्पा थिए, जो उनीहरुसँगै त्यहाँ पुगेका थिए ।

सर्वाधिक आरोहण
(कामी रिता शेर्पा, नेपाली, २५औं पटक)

 

सोलुखुम्बुका कामी रिता शेर्पा सगरमाथाको सर्वाधिक आरोहण गर्ने आरोही हुन् । उनले हालसम्म सगरमाथाको २५औं पटक सफल आरोहण गरेका छन् । उनले सगरमाथाको २५औं आरोहण यसै महिनाको सुरुवातमा गरेका हुन् । त्यस लगत्तै २६औं पटक आरोहणको प्रयास गरेका कामी रिता खराव मौसमका कारण यसै साता काठमाडौं फर्किएका छन् । उनले मे २०१८ देखि एकल रुपमा यो कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । सन् २०१७ सम्म कामी रिता सगरमाथाको सर्वाधिक आरोहण गर्ने तीनमध्येको एक व्यक्ती थिए । कामी रितासँगै आप्पा शेर्पा र फुर्बा टाशी शेर्पाले समान २१ पटक आरोहण गरेका थिए । यद्यपि, त्यसपछि आप्पा र फुर्बाले आरोहणबाट सन्न्यास लिए । त्यसपछि पनि कामी रिता पनि निरन्तर आरोहण गर्दै आइरहेका छन् ।

सर्वाधिक छिटो आरोहण
(लाक्पा गेलू शेर्पा, नेपाली, १० घण्टा ५६ मिनेट ४६ सेकेण्ड)

सबैभन्दा छिटो सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमान सोलुखुम्बु जुबिङका लाक्पा गेलु शेर्पाले नाममा छ । उनले २६ मे २००३ मा यो कीर्तिमान कायम गरेका हुन् । उनले मात्रै १० घण्टा ५६ मिनेट ४६ सेकेण्डमा सगरमाथाको सफल आरोहण गरेका थिए । साँझ पाँच बजे आरोहण सुरु गरेका लाक्पा त्यसकै बिहान ३ः५६ः४६ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । उनी त्यही दिन बिवान ११ः२० बजे बेस क्याम्प आइपुगेका थिए । उनी १८ घण्टा २० मिनेटमा आरोहण सम्पन्न गरी पुनः बेस क्याम्पमा फर्किसकेका थिए ।

बृद्ध आरोही
(युचिरो मिउरा, जापनिज, ७० वर्ष)

युचिरो मिउरा जापनिज आरोही हुन् । उनको नाममा विश्वको सर्वाेञ्च शिखर सगरमाथाको सफल आरोहण गर्ने बृद्ध व्यक्तीको कीर्तिमान छ । युचिरोले सन् २०१३ मा ८० वर्ष दुईसय २४ दिनको उमेरमा सगरमाथाको सफल आरोहण गर्दै यो कीर्तिमान कायम गरेका हुन् । अन्य कुनै पनि व्यक्तीले उनको उमेरमा सगरमाथाको आरोहण गर्न सकेका छैनन् । युचिरोले सन् २००३ मै ७० वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरी यो कीर्तिमान कायम गरेका थिए । त्यसको १० वर्षपछि उनले आफ्नै कीर्तिमानमा सुधार गरेका हुन् । नेपाली नागरिक मीनबहादुरर शेरचनले पनि सन् २००८ मा ७६ वर्ष तीनसय ४० दिनको उमेरमा सगरमाथाको सफल आरोहण गरेका छन् । उनी यो कीर्तिमानमा दोस्रो स्थानमा छन् । शेरचनको आरोहणकै क्रममा सन् २०१७ मा सगरमाथा आधार शिविरमा मृत्यु भएको हो ।

कान्छो आरोही
(जोर्डन रोमेरो, अमेरिका, १३ वर्ष १० महिना १० दिन)

अमेरिकी नागरिक जोर्डन सगरमाथाका कान्छो आरोही हुन् । उनले २२ मे २०१० मा आफू १३ वर्ष १० महिना १० दिनको उमेरमा सगरमाथाको सफल आरोहण गर्दै यो कीर्तिमान कायम गरेका हुन् । उनी पछि भारतकी महिला आरोही मलाभाथ पुर्नले २५ मे २०१४ मा १३ वर्ष १० महिना १५ दिनको उमेरमा सगरमाथाको सफल आरोहण गरेकी छिन् । मलाभाथ मात्रै पाँच दिनले जोर्डनको कीर्तिमान तोड्नबाट चुकिन् । यद्यपि, उनको नाममा महिलातर्फ सर्वाधिक कम उमेरमा सगरमाथाको सफल आरोहण गर्ने आरोहीको कीर्तिमान कायम छ ।

अपाङ्गता भएका व्यक्तीको पहिलो आरोहण
(टोम ह्वाइटटेकर, अमेरिकन, २७ मे १९९८)

अमेरिकी टोम ह्वाइटटेकर अपाङ्गता भएर पनि सगरमाथाको चुचुरोमा पुग्ने पहिलो व्यक्ती हुन् । उनी आफ्नो एउटा खुट्टाको भरमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । ह्वाइटटेकर सन् १९७९ मा एउटा ठूलो दुर्घटनामा परेका थिए । सोही कारण उनको दाहिने खुट्टा काट्नु परेको थियो । त्यसका वावजुद उनले आरोहण प्रयास जारी राखे । उनले सन् १९९५ मा सगरमाथा आरोहणको प्रयास गरेका थिए । यद्यपि, सफल भएनन् । २७ मे १९९८ मा भने उनको प्रयासले सफलता प्राप्त ग¥यो । त्यससँगै उनी सगरमाथा पुग्ने अपाङ्गता भएको पहिलो व्यक्ती बने ।

चुचुरोमा सर्वाधिक लामो समय
(बाबु छिरी शेर्पा, नेपाली २१ घण्टा)

नेपाली आरोही बाबु छिरी शेर्पाले सगरमाथा आरोहणमा फरक खालको कीर्तिमान कायम गरेका छन् । उनले सगरमाथाको चुचुरोमा सर्वाधिक लामो समय वितारएर फरक खालको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । उनले सन् १९९९ मा अक्सिजनको सहायताविना सगरमाथाको चुचुरोमा २१ घण्टा विताएका थिए । यो उचाईमा अहिलेसम्म कसैले पनि यत्तिको समय विताउन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार