सगरमाथाको सँगै सफल आरोहण गरेपछि बाबु छोरा भन्छन्, ‘जलवायू परिवर्तनको सन्देश लिएर सातै महादेश पुग्ने छौं’

कोरोना भाइरस (कोभिड १९) महामारीले शहरमा जनजीवन कठीन बनाइरहँदा नेपालका हिमालहरु भने निकै व्यस्त रहे । सम्भवत यस पटक कोरोना महामारीले रोक्न नसकेको थोरैमध्ये पर्वतारोहण क्षेत्र रह्यो । कोरोना भाइरस बेस क्याम्पसम्म पुगेको खबरका बाबजुद आरोहीहरु रोकिएनन् ।

गत वर्ष भाइरस महामारीकै कारण मुख्य सिजनमै ठप्प बनेको नेपालको पर्वतारोहण यो वर्ष भने सामान्य अवस्थाको जस्तै सञ्चालन भयो । पछिल्ला केही दिनदेखि दैनिक सयभन्दा बढीको संख्यामा आरोहीहरुले विश्वको सर्वाेञ्च शिखर सगरमाथाको चुचुरोमा आफ्नो पाइला पुराएका छन् ।

त्यो संख्यामा ४३ वर्षिय पिके (पूर्णकुमार) शेर्पा र उनका छोरा १७ वर्षिय सोनम शेर्पा पनि रहे । यो सिजनको सबै आरोहणमध्ये यी बाउ छोराको जोडीको आरोहण धेरै तरिकाले फरक छ ।

सगरमाथाको उचाई झण्डै एक मिटर (०.८६ मिटर) ले बढेर आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर पुगेपछि सफल आरोहण गर्ने सोनम कान्छो आरोही बने । यस्तै, बाबु छोराको पहिलो जोडी पनि ।

तर, लामो समयदेखि जलवायू परिवर्तनविरुद्ध अभियान चलाउदै आएका यी बाउ छोरा व्यक्तीगत उपलव्धीभन्दा पनि आफ्नो अभियान महत्वपूर्ण रहेको सुनाउँछन् । सगरमाथाको सफल आरोहण गरी फर्कदै गरेका पिकेले आधार शीविरबाट आफ्नो अभियानको पहिलो पाइला सफल भएको बताए ।

यसअघि सगरमाथाको सरसफाईकै लागि दुई पटक आरोहण गरिसकेका पिकेले यस पटक भने जलवायू परिवर्तनविरुद्धको सन्देश लिएर सगरमाथाको आरोहण गरे । वास्तवमा उनले जलवायू परिवर्तनविरुद्ध एउटा ठूलो अभियाननै तय गरेका छन् ।

उनी जलवायू परिवर्तनविरुद्धको सन्देश लिएर आफ्नो छोरासहित सातै महादेशको हिमाल आरोहण गर्दै छन् । त्यसको सुरुवात एसियाबाट गरेका हुन्, सगरमाथाको सफल आरोहणमार्फत ।

उनकाअनुसार यो अभियानमा छोराको सहभागिताको फरक महत्व छ । उनी भन्छन्, ‘जलवायू परिवर्तनविरुद्धको अभियान पुस्तौसम्म चल्ने छ । यो अभियान हामीले अर्काे पुस्तालाई पनि हस्तान्तरण गर्न आवश्यक छ । त्यही भएर मेरो अर्काे पुस्ता छोरालाई पनि यो अभियानमा साथै लिएर हिडेको छु ।’

बाबुको यो अभियानमा छोरा सोनम पनि सहमत छन् । वास्तवमा यो अभियान लिएर सगरमाथाको आरोहण गर्ने प्रस्ताव छोरा सोनमको हो । ‘बुबा पहिलेदेखि नै यो अभियानमा हुनुहुन्छ । म आफै पनि पर्यटन क्षेत्रमा संलग्न भएको केही वर्ष भइसकेको छ । बुवाले सुरु गर्नुभएको यो अभियान र आफै पर्यटन क्षेत्रमा संलग्न भएपछि जलवायू परिवर्तनले प्रकृतीमा धेरै ठूलो असर पारिसकेको पाएँ’, सोनम भन्छन्, ‘त्यसैले यो अभियानलाई अझ बृहत रुपमा अघि बढाउन आवश्यक छ भन्ने महसुस् भयो । त्यसअनुसार सगरमाथा आरोहणको योजना बनेको हो ।’

पिकेका अनुसार उनीहरुको यो अभियानमा अरु सहयोगहीहरु पनि जोडिएका छन्, जसले अन्य महादेशमा काम गरिरहेका छन् । ‘अन्य महादेशमा हामीले आरोहण गर्ने हिमालको टुङ्गो लाग्न बाँकी छ । यद्यपि, त्यहाँ साथीहरुले तयारी गर्दै हुनुहुन्छ । आरोहणको सम्पूर्ण व्यवस्थापन, प्रचार त्यहाकै साथीहरुले हेर्दै हुनुहुन्छ’, पिके भन्छन्, ‘सबै कुरा निश्चित भएपछि आरोहणका लागि जाने छौं । त्यसबाट हाम्रो अभियानले अझ सफलता प्राप्त गरेको महसुस् गर्ने छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार