काठमाडौं । विन्टर सिजन (हिउँदे याम) मा विश्वकै दोस्रो अग्लो हिमाल माउण्ट केटुको सफल आरोहण गरी फर्किएका कीर्तिमानी नेपाली आरोहीहरुको काठमाडौंमा भव्य स्वागत भएको छ ।
मंगलबार बिहान काठमाडौं आइपुगेका उनीहरुलाई पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले शहर परिक्रमा सहित सम्मान गरेका हुन् । नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ (एनएमए) लगायत दुई दर्जनभन्दा बढी संस्थाले संयुक्त रुपमा कीर्तिमान आरोहीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाटै गाडीमा राखेर शहर परिक्रमा गराएका थिए ।
उनीहरुलाई तिनकुने बानेश्वर, पुतली सडकबाट ठमेल हुँदै भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको प्राङ्गढमा पु¥याइएको थियो । त्यससँगै उनीहरुलाई ताम्रपत्रसहितले सम्मान गरिएको हो ।
आरोहीहरुलाई मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कदरपत्र सहित सम्मान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आरोहीहरुलाई प्रधामन्त्री निवास बालुवाटरमै बोलाएर सम्मान गर्नुभएको हो ।
निर्मल पुर्जा नेतृत्वको १० जनाको नेपाली आरोहीहरुले गत जनावरी १६ मा ‘किलर माउण्टेन’को रुपमा परिचित केटु हिमालको सफल आरोहण गरेका थिए । पाकिस्तान र चीनको सिमा काराकोरम क्षेत्रमा पर्ने माउण्ट केटुको चुचुरोमा हिउँदे याममा मानव पाइला पुगेको यो नै पहिलो अवसर हो ।
आरोहणका लागि कठिन मानिने माउण्ट केटुमा अहिलेसम्म हिउँदे याममा कसैले पनि आरोहण गर्न सकेको थिएन । आठ हजार ६ सय ११ मिटर अग्लो यो हिमाल अहिलेसम्म हिउँदे याममा आरोहण गर्न नसकिएको आठ हजार मिटरभन्द माथिको एक्लो हिमाल थियो ।
त्यही हिमालमा सफल आरोहण गरी नेपाली आरोहीहरुले कीर्तिमान कायम गरका हुन् । नेपाली आरोहण दलको अन्य सदस्यहरुमा मिङ्मा ग्याल्जेन शेर्पा, पेम्बाछिरी शेर्पा, दावा शेर्पा, मिङ्मा डेभिड शेर्पा, ग्याल्जे शेर्पा, सोना शेर्पा, किली पेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र पेमछिरी शेर्पा रहेका छन् ।