कोभिड १९ पछिको भ्रमणलाई सहज बनाउने बेलायतको प्रयास

एजेन्सी । इंग्ल्यान्डले कोरोना भाइरस (कोभिड १९) पछि देशभित्रै हुने र अन्तर्राष्ट्रिय भ्रमणलाई सहज बनाउने उदेश्यले केही सहज नियम ल्याएको छ । नयाँ नियमअनुसार भ्रमण गरी बेलायत पुग्ने पर्यटक संक्रमित नभएको अवस्थामा पाँच दिनभन्दा बढी समय ‘क्वारेन्टिन’ बस्नु पर्ने छैन ।

बेलायत सरकारको यो परिवर्तित नियम नेपालले पनि पछ्याउन सक्ने छ । देशको अर्थतन्त्रलाई नै नेपाली पर्यटन क्षेत्रले ठूलो योगदान पु¥याउने मानिन्छ । गच चैत्रमा कोरोना भाइरस महामारी सुरु भएसँगै ठप्प रहेको नेपाली पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रयास त सरकारले गरेको छ ।

यद्यपि, नेपाल भ्रमणका लागि आइपुग्ने पर्यटकले सात दिन अनिवार्य क्वारेन्टिनमा विताउनै पर्ने नियम लगाएको छ । सात दिनपछि पनि पर्यटक आफैले पैसा तिरेर परीक्षण गराउनु पर्ने र नतिजा ‘नेगेटिभ’ आएपछि मात्रै भ्रमणमा निस्कन पाउने छन् । ‘पोजिटिभ’ आएको अवस्थामा उपचारतर्फ लाग्नुपर्ने छ ।

नेपाली पर्यटन व्यवसायीहरुले सात दिन क्वारेन्टिनमा बस्नु पर्ने नियम व्यवहारिक नभएको बताउदै आइरहेका छन् । उनीहरुले अरु व्यवस्था गरेर क्वारेन्टिनमा बस्नु पर्ने अवधि घटाउनुपर्ने सुझाव दिएका छन् ।

‘नेपाल आउने धेरै पर्यटक छोटो अवधि र तुलनात्मक रुपमा थोरै पैसाको योगदान गरेर आएका हुन्छन्’, एक पर्यटन व्यवसायी भन्छन्, ‘नेपाल भ्रमण गर्न आउदाँ सात दिन क्वारेन्टिनमा खर्च गरेरै बस्ने गरी कोही पर्यटक आउँदैनन् । यसले पर्यटन क्षेत्र चलायमान बनाउन सकिन्न । अरु व्यवस्था गरेर क्वारेन्टिनको अवधि घटाउनु पर्दछ ।’

०००
बेलायत सरकारले पनि आफ्नो पछिल्लो परिवर्तित नियममा पाँच दिन भने क्वारेन्टिनमा बस्नै पर्ने बाध्यकारी नियम तय गरेको छ । पाँच दिनपछि नै परीक्षण गर्दा पर्यटक आफैले खर्च गर्नुपर्ने छ । त्यसभन्दा पछिको परीक्षण भने बेलायत सरकारले निशुल्क गरिदिने छ ।

त्यसअनुसार संक्रमण नभएका पर्यटकले बेलायत पुगेको ६ देखि सात दिन मात्रै आइसोलेसनमा बस्नु पर्ने छ । किन भने बेलायतमा परीक्षणका लागि ‘स्वाब’ दिइएको २४ देखि ४८ घण्टामा रिपोर्ट आउने गर्दछ । त्यसका लागि पर्यटकले निजी क्लिनिकहरुमा ६५ देखि एकसय २० पाउण्डसम्म तिर्नुपर्ने छ । परीक्षणको नतिजा पोजिटिभ आएको अवस्थामा भने उक्त पर्यटक उपचारतर्फ लाग्नु पर्ने छ ।

यो नियम आगामी १५ डिसेम्बरबाट मात्रै लागू हुने छ ।

बेलायती एक उच्च सरकारी अधिकारी ग्रान्ट शाप्सले पछिल्लो नियमबाट कोरोना भाइरस महामारीले बिथोलेको अन्तर्राष्ट्रिय भ्रमणलाईमा सुधार आउने र स्थानीय पनि संक्रमणको जोखिममा नहुने जनाएका छन् । सरकारको यो घोषणालाई बेलायतको पर्यटन क्षेत्रले स्वागत गरेको छ ।

बेलायतमा अधिकारीहरुले भाइरस संक्रमण फैलिरहेकै समयमा पनि सबै क्षेत्रलाई चलायमान बनाउने प्रयास गरेका हुन् । साप्स् भन्छन्, ‘परीक्षण सम्बन्धी हाम्रो यो नयाँ नियमले हामीलाई अझ स्वतन्त्र रुपमा भ्रमण गर्न, प्रियजनलाई भेट्न र अन्तर्राष्ट्रिय व्यापार व्यवसाय अघि बढाउन मद्धत गर्ने छ । यो नियममार्फत कोरोना महामारीले थलिएको हाम्रो भ्रमणसँग सम्बन्धित उद्योगलाई पनि सहयोग पुग्ने अपेक्षाा गरेका छौं ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार