टुरिजमपाटी । बृद्ध अवस्थामा पुगेका आरोही र हिमालसँग सम्बन्धी विभिन्न क्षेत्रमा काम गर्नेहरुका लागि विशेष व्यवस्थाको पहल हुने भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उनीहरुका लागि मन्त्री परिषद् बैठकमा आफूले विशेष व्यवस्थाका लागि प्रस्ताव लैजाने बताउनुभएको हो ।
‘बृद्ध अवस्थामा पुग्नु भएका आरोही र यस क्षेत्रमा कार्यरतहरुका लागि विशेष के व्यवस्था गर्न सकिन्छ ? यसबारेमा हामी बिचार गर्ने छौं’, नेपाल पर्वतारोहण संघ (एनएमए) ले बिहीबार आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले भन्नुभयो, ‘त्यसको पहिचान भएपछि म मन्त्री परिषद्मै प्रस्ताव लैजाने छुँ ।’
मन्त्री गुरुङले एनएमए र यससँग सम्बन्धी निकायले सञ्चालन गर्ने पर्वतारोहणसम्बन्धी प्रशिक्षणमा हिमाललाई कसरी बचाउँन सकिन्छ भन्ने विषयलाइ पनि पाठ्यक्रममा समेट्न अनुरोध गर्नुभयो । ‘तपाईहरुले नेपालको हिमालको प्रवद्र्धन र प्रचारमा त काम गरिरहनु नै भएको छ । अहिले हिउदमै हिमालमा हिउँ नभएको जस्ता समस्या पनि देखिन थालेका छन् । यो गम्भिर विषय हो । हिमाल नै नरहे हाम्रो व्यवसाय पनि सम्भव छैन । त्यसैले तपाईहरुले गर्ने क्रियाकलाप र विशेष गरी सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रममा हिमाललाई कसरी बचाउन सकिन्छ भन्ने बिषयलाई पाठ्यक्रममै समावेश गर्न अनुरोध गर्दछु’, मन्त्री गुरुङले भन्नुभयो ।
कार्यक्रममा मन्त्री गुरुङले एनएमएले यो वर्ष विभिन्न समयमा सञ्चालन गरेको ड्भान्स माउन्टेनियरिङ कोर्षका प्रशिक्षण कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा एनएमएका अध्यक्ष सन्तबीर लामाले सरकारले आह्वान गरे अहिलेको अवस्थामा पनि विदेशी आरोहीहरु नेपाल आउन तयार रहेको र त्यसबारेमा बिचार गर्न सरकारलाई अनुरोध गर्नुभएको थियो ।
‘अन्य देशहरुमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको अवस्थामा पनि नेपालमा विदेशी आरोहीहरु आउँन इच्छुक पाएको छु । यदी नेपाल सरकारले आवश्यक केही व्यवस्था गरेर आह्वान गर्ने हो भने नेपालमा विदेशी आरोही अहिले पनि आउछन्’, अध्यक्ष लामाले भन्नुभयो, ‘यसबारेमा पनि सोच्न म सरकारलाई अनुरोध गर्न चाहन्छु ।’