पर्यटन क्षेत्रमा राजनीतिको छायाँ


अनुभवी र खारिएका व्यक्तित्व हर क्षेत्रमा नेतृत्वदायी भूमिकामा आईदियोस् भन्ने धेरैको चाहना हुन्छ । यस्ता व्यक्तित्वको उपस्थिति सफलताको खुड्किलो बन्नु पर्ने हो । पछिल्लो समयमा दलीय राजनीतिले यस्ता व्यक्तित्वहरू विरलैमात्र नेतृत्वदायी भूमिकामा देखिने गरेका छन् । केहि गरौ र गर्छु भन्नेहरुको उपस्थिति हर क्षेत्रमा कम हुँदै गर्दा उनीहरुको अभाव खड्किन थालेको छ ।
यो अभाव नेपाली पर्यटन क्षेत्रमा पनि खड्किएको हो । देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याउँदै आएको पर्यटन क्षेत्र पनि राजनीतिबाट अछुतो रहन सकेन । जसको प्रत्यक्ष प्रभाव पर्यटन संघसंस्थाको नेतृत्व र पर्यटनको भविश्यमा परिरहेको । पर्यटन संघसंस्थाको चुनावी माहोललाई हेर्ने हो भने कुनै राजनीतिक दलको चुनावी अभियानभन्दा कम देखिन्न ।
दलीय राजनीतिको प्रभावकै कारण नेतृत्व कस्तो छान्ने भन्दा पनि हाम्रो मान्छे को को ल्याउने भन्नेमा केन्द्रित देखिन्छन् । यस्तो प्रबृत्तिले पर्यटन क्षेत्रमा केही गर्छु भनेर आउने र आउन चाहनेहरूका लागि मूल ढोका नै बन्द हुँदै गरेको स्थिति छ ।
यही संस्कारले पर्यटन क्षेत्रबारे राम्रो ज्ञान नहुदै संघसंस्थाको नेतृत्वमा पुगेको उदाहरण पनि प्रसस्तै छन् । त्यसको नकारात्मक असर समग्र पर्यटन क्षेत्रको विकासमै पर्ने गरेको छ । पार्टीगत गुट नमिल्दा एउटा पक्षले जतिसुकै राम्रो नीति र कार्यक्रम ल्याए पनि अर्काे सधै विरोधमै हुन्छन् । राजनीतिकै कारण विपक्षिको एजेण्डाप्रति असहयोगी बन्ने, एकअर्काप्रति दोषारोपण गर्ने प्रबृत्ति मौलाउँदो छ ।
यो प्रबृत्तिले पर्यटक संघसंस्थाप्रति निखारिएका र अनुभवी व्यक्तित्वहरू आउन र नेतृत्व गर्न अरुची देखाउने गरेको नेपाल पर्वतारोहण संघ (एनएमए) का सचिव टिकाराम गुरुङ बताउनुहुन्छ । बेलाबखत आईरहने र देखिने विभिन्न समस्या र चुनौतीको सामना गर्न नसक्नुले पर्यटकीय संस्थाको नेतृत्वमा खारिएका व्यक्तित्वको अभाव खड्किने गरेको उहाँ बताउनुहन्छ । ‘हर क्षेत्रमा राजनीतिक रङ हाबी हुँदा असल व्यक्तित्वको सोंच र योजनाको कदर नै हुँदैन’, उहाँ भन्नुहुन्छ, ‘त्यसैले धेरैजसो व्यक्तित्व संघसंस्थामा आउन पनि चाँहदैन ।’
पर्यटक पार्टीको झन्डा बोकेर आउने होइनन् । न त कुन पार्टीको टे«ेकिङ कम्पनीको हो, कुन पार्टीको होटल भनेर नै सोध्छन् । विशुद्ध राजनीतिक क्षेत्र मानिने पर्यटन क्षेत्रमा पर्यटक आन्तरिक होस् या बाह्य, उनीहरुको कुनै पार्टी या दल हुँदैन । तर पनि यो क्षेत्रमा धेरैजसो पर्यटन व्यवसायी राजनीतिक रङले नै चिनिन चाहन्छन् ।
पर्यटन क्षेत्रमा लामो अनुभव बटुल्नु भएका प्रकाशसिं कार्की पनि नेपाली पर्यटन क्षेत्र राजनीतिबाट अछुतो नरहेको बताउनुहुन्छ । नेपाल फ्रेड फरवार्डस एशोसिएसनका अध्यक्ष समेत रहनुभएका कार्की भन्नुहुन्छ, ‘पर्यटन क्षेत्रमा राजनीति घुसेकाले गर्छु भन्ने व्यक्तित्वहरू संघसंस्थामा आउन चाँहदैनन् र आउँन सक्दैनन् पनि । यदि असल व्यक्ति आइहाले पनि काम गर्ने वातावरण दिइदैन’, उहाँ भन्नुहुन्छ ।
त्यो अवस्थाको महसुस् टे«ेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का निवर्तमान महासचिव कर्ण लामालाई पनि छ । पर्यटन क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने संघ संस्थाहरू पछिल्लो समय चलायमान नरहेको उहाँ बताउनुहुन्छ । ‘नेपाली पर्यटन क्षेत्रले बेहोर्दै आइरहेको यो खराब व्यवहारलाई अहिलको नेतृत्वले पनि तोड्न सकेको छैन’, उहाँ भन्नुहुन्छ, ‘पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुमा समेत दलीय समर्थनमा निर्वाचन हुने परिपाटीले पनि यो क्षेत्रमा योगदान दिन सक्ने कुशल व्यक्तिहरू आउन नसकेको हो ।’
संघसंस्थाको चुनावमा राम्रा व्यक्ति रोज्ने या हाम्रा व्यक्ति खोज्ने भन्ने व्यवसायीमै भर पर्ने कुरा हो । राम्रालाई भन्दा हाम्रालाई रोज्ने प्रबृत्तिले संघसंस्थामा एकअर्काप्रतिको सम्मान र सहकार्य हुन नसक्ने अवस्था छ । पर्यटन क्षेत्रका समस्या र चुनौती थप जटिल बन्दै गइरहेका छन् । जसको प्रत्यक्ष असर पर्यटन क्षेत्रले भोगिरहेको छ । पर्यटन क्षेत्रमा पर्ने सकारात्मक या नकारात्मक प्रभाव नै किन नहोस्, यसको भागीदार सबैले बन्नैपर्छ । दिनप्रतिदिन पर्यटन क्षेत्रमा बढ्दै गइरहेको चुनौती र समस्या समाधानका लागि पर्यटन व्यवसायीको एकता अपरिहार्य छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार